बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्यो, १४ बाट ८ बनाउने

कार्यान्वयन साउन १ गतेदेखि हुने
स्वर्णिम खबर
२२ बैशाख २०८३, मंगलवार १९:०३

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको हो । अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालय रहनेछन् ।
यसअघि प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो । पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिले मन्त्रालयको सङ्ख्या मात्र बढेको तर कार्यसम्पादनमा प्रभावकारिता नदेखिएकोले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो । साङ्गठनिक आवश्यकता र कार्य बोझ भन्दा पनि आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको समितिले ठहर गरेको थियो ।
नयाँ संरचनाअनुसार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय रहनेछन् । मन्त्रालयअन्तर्गतका कार्यालय पनि घटाइने भएका छन् । हाल रहेका १ सय ९८ वटा कार्यालयमध्ये करिब ५० वटा घटाइने सरकारको तयारी छ । यसबाट चालु खर्चतर्फ झण्डै ५ अर्ब रुपैयाँसम्म कटौती हुने अनुमान गरिएको छ । जनताको करबाट उठेको रकमलाई अधिकतम् पूँजीगत क्षेत्रमा खर्च गर्ने लक्ष्यका साथ यस्तो निर्णय गरिएको प्रवक्ता तामाङले बताउनुभयो ।
यो निर्णय आगामी आर्थिक वर्षदेखि लागू हुनेछ । हालको मन्त्रिपरिषद् भने चालु आर्थिक वर्षको अन्त्यसम्म यथावत् रहनेछ भने साउन १ गतेदेखि नयाँ संरचना कार्यान्वयनमा आउने बताइएको छ । त्यसैगरी, मन्त्रिपरिषद् बैठकले चन्द्रबहादुर गोपालीलाई त्रिभुवन पार्क सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*