थाहा नगरपालिकामा टिस्टुङ बज्रबाराही जात्रा जारी

जात्राको अवसरमा सोमबार सार्वजनिक बिदा
स्वर्णिम खबर
२० बैशाख २०८३, आईतवार १७:३५

२० वैशाख, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक टिस्टुङ बज्रबाराही मन्दिरमा प्रत्येक तीन वर्षमा मनाइने बज्रबाराही जात्रा जारी रहेको छ ।
वैशाख पूर्णिमापछि पर्ने शनिबारबाट सुरु हुने परम्परा अनुसार यस वर्ष जात्रा हिजो देखि सुरु भएको हो । तीन दिन सञ्चालन हुने जात्रा थाहा नगरपालिका–६ वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिको समन्वयमा सञ्चालन भइरहेको छ । जात्राको पहिलो दिन गाउँ–गाउँबाट देवताहरू ल्याई टिस्टुङस्थित बज्रबाराही पीठमा राखिएको छ । दोस्रो दिन मुख्य दिन गाउँघरबाट बलीसहित पूजा ल्याई विधिपूर्वक आराधना गरिएको छ । तेस्रो दिन ल्याइएका देवताहरू पुनः सम्बन्धित गाउँमा फर्काइने परम्परा रहिआएको छ । जात्रा सुरु हुनुअघि पुजारीहरूले एक साताअघिदेखि ‘चा पूजा’ (रात पूजा) गर्ने चलन रहेको छ ।
यस अवधिमा मध्यरातमा पीठमा पुगेर विशेष तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । पूजा प्रक्रियामा सहभागी हुनेहरूले एकअर्कासँग नबोल्ने र पछाडि फर्केर हेर्न नहुने धार्मिक मान्यता रहेको छ । जात्राका क्रममा विशेषगरी पशुपंक्षीको बली दिने परम्परा रहँदै आएको छ । पहिलो दिन विभिन्न जीवजन्तुको बली दिइन्छ भने दोस्रो दिन पञ्चबली (बोका, हाँस, भाले, राँगा र भेडा) चढाइन्छ । जात्राको अन्तिम दिन बज्रबाराही देवीको खटलाई परिक्रमा गराउँदै देउलाटोलमा ल्याई विधिवत रूपमा जात्रा समापन गरिन्छ । स्थानीय विश्वासअनुसार टिस्टुङकी बज्रबाराहीलाई उपत्यकाको रक्षा गर्ने चार बाराहीमध्ये प्रमुख मानिन्छ । ललितपुरस्थित बज्रबाराहीको ‘आमा’का रूपमा समेत टिस्टुङ बज्रबाराहीलाई लिइने गरिन्छ ।
यसैबीच थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । थाहा नगरपालिकाले सांस्कृतिक पर्व मेला संरक्षणका लागि जात्रा पर्वका अवसरमा बिदा दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*