हेटौंडा ४ ले बृहत शैक्षिक प्रदर्शनी गर्ने
१८ वैशाख, हेटौँडा । सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गर्ने लक्ष्यको साथ हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा विविध प्रतियोगिता सहित सम्मान कार्यक्रम हुने भएको छ ।
शैक्षिक, खेलकुद तथा सिर्जनात्मक गतिविधिलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले जिल्ला स्तरीय शिक्षक भलिबल, तेस्रो बृहत खेलकुद प्रतियोगिता, विद्यार्थी र अभिभावक सम्मान, शैक्षिक प्रर्दशनी, चित्रकला देखि नृत्य प्रतियोगिता गर्न लागेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष नविन सिग्देलले प्रतियोगिता बारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार बैशाख १८ गतेदेखि सुरु भएको जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको फाइनल खेल वैशाख १९ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
साथै सान्त्वना प्राप्त गर्ने दुई टोलीलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी बैशाख २७ गते आधुनिक राष्ट्रिय माविमा तेस्रो बृहत खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हुने भएको छ । यसैगरी यस्तै, कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि गरिने भएको छ । ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई जनही ५ हजार सहित अभिभावकलाई समेत सम्मान गर्ने उहाँले जानकारी दिनुभयो । यस्तै, जेठ १४ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा चौथो बृहत शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । नगरस्तरीय शैक्षिक प्रदर्शनीमा विज्ञान विषयमा आधारित प्रस्तुति रहनेछ । प्रदर्शनीतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार तथा सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
“२० वर्षपछिको हेटौंडा” विषयमा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ भने नगरस्तरीय नृत्य प्रतियोगितामा राष्ट्रिय, नेपाली मौलिक भाषा तथा संस्कृति झल्कने गीतमा प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सिग्देलले यही जेठ २ गते ४ नं. वडा भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई हेयर कटिङ, ब्युटिसिएन र इलेक्ट्रिकको उद्यमशीलता तालिम प्रदान गरिने पनि जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा ४ को व्यवस्थापनमा हुने कार्यक्रमको अनुमानित लागत १० लाख रुपैंया रहेको छ ।












