डेरी उद्योगलाई प्रशासनको निर्देशनः असारभित्र किसानलाई ६५ प्रतिशत भुक्तानी दिनु
१४ वैशाख, हेटौँडा । किसानसंग उधारोमा दुध खरिद गरेर भुक्तानी नदिएका निजी डेरी उद्योगहरुलाई असार मसान्त भित्र रकम भुक्तानी गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन गरेको छ ।
दुग्ध उत्पादक किसानको भुक्तानी रोकेका मकवानपुरका ११ डेरी उद्योग सहित किसानका प्रतिनिधी राखेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले छलफल गराएको हो । सोमबार प्रशासनको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटा, डेरी उद्योगका सञ्चालक एवम् व्यवस्थापकसंग छलफल गरिएको हो ।
छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उद्योगले किसानलाई रकम भुक्तानी दिन नसक्नुको कारणबारे जानकारी लिनुभएको थियो । मकवानपुरमा संचालित ११ उद्योग वटा डेरी उद्योगबाट किसानले २०७८ सालदेखि १४ करोड ३५ लाख ६३ हजार भुक्तानी पाउन बाँकी छ । यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि किसानको भुक्तानी रोक्ने डेरी उद्योगहरुसंग छलफल गरेको थियो । बक्यौता रकम प्रत्येक महिना जम्मा गर्दै जाने र ६५ प्रतिशत बक्यौता यहि असार मसान्त सम्म भुक्तानी गर्ने र बांकी रहेको रकम असोज मसान्त सम्ममा पुर्ण रुपमा रकम भुक्तानी गरि सक्ने प्रतिवद्धता उद्योगले जनाएका थिए ।

प्रजिअ अधिकारीले पनि डेरी उद्योग सञ्चालकहरुलाई संघसंग भएको सहमति अनुसार नै भुक्तानी दिन निर्देशन दिनुभयो । सहमति पालना नभए जिल्ला प्रशासन कार्यालय कारबाहीमा उत्रन बाध्य हुने उहाँले चेतावनी दिनुभयो । उद्योगीहरुलाई प्रबर्धन गर्न सरकार तयार रहेको बताउनुहुँदै प्रजिअ अधिकारीले किसानहरुको समस्सामा गम्भीर बनिदिन उधोगीहरुलाई आग्रह गर्नुभयो । छलफलको क्रममा उद्योगीहरुले बटर चिज लगायतका दुग्धजन्य पदार्थ लामो समयसम्म स्टकमै रहने र यसको बजारीकरणमा देखिएको समस्याको कारण भुक्तानीमा कठिनाई भएको गुनासो गरेका थिए । हेटौंडा ९ मा रहेको शुभ डेरीले सबैभन्दा धेरै ६ करोड ७० लाख भुक्तानी दिन बाँकी छ भने गायत्री डेरीले ४ करोड ४९ लाख भुक्तान दिन बाँकी छ ।
त्यसैगरी भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार, कविता डेरीले १२ लाख ४२ हजार, पवित्र मिल्कले ४ करोड ६ लाख, स्यार्सेकालिका डेरीले १ करोड ६ लाख, पिज्जा कटरले ७ लाख २३ हजार, नारायणी मिल्कले १० लाख ३२ हजार, एस.के.डेरीले २५ लाख २८ हजार र कल्पवृक्ष डेरीले ६५ लाख ५७ हजार भुक्तानी गर्न बाँकी छ । जिल्ला उत्पादक सहकारी संघसंग मकवानपुरमा ११ हजार किसान आबद्ध छन् भने ४२ डेरी उद्योगसंग जिल्ला संघले कारोबार गर्दै आएको छ । किसानले लामो समयदेखि उधारोमा बिक्री गरेको दुधको मुल्य नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्बपक्षीय छलफल राखेको हो ।











