पत्रकार महासंघ मकवानपुरको साधारणसभा जेठ ९ गते हुने
१२ वैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १९ औँ साधारण सभा आगामी जेठ ९ गते शनिबार आयोजना हुने भएको छ ।
शनिबार बसेको कार्यसमिति बैठकले उक्त मितिमा साधारण सभा गर्ने सर्वसम्मत निर्णय गरेको सचिव केशव सर्मपण सुवेदीले जानकारी दिनुभयो । साधारण सभामार्फत ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि संशोधन तथा महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित प्रसूति प्रवद्र्धन कोष कार्यविधि २०८२ अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।
साधारण सभामा महासंघका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा मकवानपुर शाखाले स्थापना गरिएको ‘न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार’ र व्यवसायी महेन्द्र राउतद्वारा स्थापना गरिएको ‘पार्वतीमान–बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।
पुरस्कार छनोटका लागि उपाध्यक्ष ध्रुव अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा केशव सुवेदी, स्मिता अर्जेल, सुमन दाहाल र श्रीराम दाहाल रहेका छन् । दुवै पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यसअघि न्हुच्छेमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार दीपक अधिकारी, नानीमैया विष्ट, होम कार्की, रोशन पराजुली, खेम बोलखे, अञ्जली थापा र सरिता दाहालले प्राप्त गरिसकेका छन् । त्यस्तै, २०६९ सालमा स्थापना गरिएको पार्वतीमान–बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार कौशल पाण्डे, कृष्णराम परियार, राममणी दाहाल र नवराज शर्माले प्राप्त गरिसकेका छन् ।











