प्रत्येक महिनाको प्रमाणित हाजिरी विवरण तीन दिनभित्र मुख्यमन्त्री कार्यालयमा पेश गर्नुपर्ने
११ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले कर्मचारीहरूको हाजिरी विवरणलाई थप कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ ।
कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, कार्यालय समयभर नबस्ने तथा खाजा खाने सीमित समय भन्दै घण्टौं बाहिर बस्ने जनगुनासो बढेपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडाले वैशाख ११ गते सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई पत्राचार गर्दै हाजिरी विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।
कार्यालयले जारी गरेको पत्रमा कर्मचारीहरूको हाजिरी उपस्थितिका लागि विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भइसकेको, गएको, काज तथा बिदा लगाइएको विवरणसमेत विद्युतीय प्रणालीबाटै देखिने व्यवस्था मिलाउन भनिएको छ । साथै प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त हुने गरी पठाउन पनि निर्देशन दिइएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार कर्मचारीहरूको नियमित उपस्थितिमा लापरवाही, सेवा प्रवाहमा ढिलासुस्ती तथा कार्यालय समयको दुरुपयोगबारे सर्वसाधारणबाट लगातार गुनासो आइरहेकाले अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइएको हो ।











