मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

स्वर्णिम खबर
१० बैशाख २०८३, बिहीबार १७:१०

१० वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बकैया गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो यस अघिका प्रमुख राजनीतिक सल्लाहकार कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले फागुन २१ गतेको चुनावमा उम्मेदवार हुन राजीनामा दिनुभएको थियो ।
खनाल नेपाली कांग्रेसको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को संघीय सभापति समेत हुनुहुन्छ ।
त्यसैगरी बैठकले जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति समेत प्रदान गरेको छ ।
त्यसैगरी बैठकले प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।
बैठकले त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ र आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।


यसैगरी, बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उहाँले बताउनुभयो ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने निर्णय गरेको छ । यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकिएको छ ।
बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताउनुभयो । बैठकले प्रदेशको ११ औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*