ज्ञानदा माबिले कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउने
१० वैशाख, हेटौँडा । हेटौंडा १० को एकमात्र सामुदायिक विद्यालय ज्ञानदा माध्यमिक बिद्यालयले यस शैक्षिक सत्रबाट कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बिद्यालयले अंगे्रजी माध्यम सञ्चालनबारे जानकारी दिएको हो । यसअघि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गरिरहेको विद्यालय यसै शैक्षिक सत्र मार्फत कक्षा ६ देखि ८ सम्म अंग्रेजी माध्यम थप गरिएको बिद्यालयका प्रधानाध्यापक बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । ३ सय ३५ जना बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयमा हाल माबि तहमा ५ जना, निमाबि तहमा १ जना, प्राथमिक तहमा ६ जना र बालबिकास सहजकर्ता २ जना कार्यरत रहेको समेत कार्यक्रममा जनाइएको छ ।
प्रधानाध्यापक गुप्ताले यस बिद्यालयबाट पुर्व बिद्यार्थीको रुपमा पठनपाठन गरि सामजिक रुपमा स्थापित विभिन्न व्यक्तित्वहरुको उदाहरण समेत दिनुभयो । राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सप्तरी एपीएफका एस.पि.शैलेश श्रेष्ठ लगायत यस विद्यालयका पूर्व विद्यार्थी हुन् । प्रधानाध्यापक गुप्ताका अनुसार बिद्यालयलाई विभिन्न समस्याका कारण शैक्षिक गुणस्तर प्राप्त गर्न सकस भइरहेको छ । २०२८ सालमा व्यक्तिको निजी घरमा स्थापित यस बिद्यालयको अहिलेपनि आफ्नै जमिन नहुँदा बि.स ं२०३५ सालदेखि नै भुटनदेवी मन्दिरको जग्गामा भवन स्थापित गरि पठनपाठन गरिरहेको जनाएको छ ।
२०५२ सालदेखि माबि तहमा सञ्चालन भएको यस बिद्यालयको नयाँ भवन निर्माणमा सुस्तता आएपछि बिद्यालयले झनै समस्या खेपिरहेको प्रधानाध्यापक गुप्ताको भनाइ छ । बिद्यालयले हाल सम्म प्राप्त गरेको प्रगतिबारे जानकारी दिदैँ उहाँले एसइइ परिक्षा लक्षित अतिरिक्त तथा कमान्डो कक्षा समेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
बिद्यालय सुधारका लागि पूर्व बिद्यार्थी एलुमुनाइ तथा पुर्व शिक्षक एलुमुनाइ पुर्नगठन गर्दै सक्रिय बनाउने, नव निर्माणाधिन भवनको निर्माण अविलम्ब सम्पन्न गर्न लगाइ अंग्रेजी माध्यमका कक्षाहरु नयाँ भवनबाट शुरु गरिने, नयाँ शैक्षिक सत्रबाट बिद्यार्थीका लागि यातायातको साधनको व्यवस्था गर्ने, कमजोर बिद्यार्थीहरुको लागि अतिरिक्त कक्षाको सुरुवात गर्ने, छात्राहरुको लागि सेनेटरी प्याड खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिइएको छ । यस्तै गणित तथा बिज्ञान र कम्प्युटर ल्याब लगायतलाई अपग्रेड गरि सामाजिक ल्याबको सुरुवात गरिने प्रधानाध्यापक गुप्ताले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिको ज्येष्ठ सदस्य रुद्र बहादुर हाडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामाले वडा कार्यालय तथा उपमहानगरपालिका समेत बिद्यालयलाई क्रमिक सुधार गरी आगामी ५ बर्षमा नमुना बिद्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











