कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

स्वर्णिम खबर
५ बैशाख २०८३, शनिबार १२:४६

५ वैशाख, हेटौँडा । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै, बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ । त्यसैगरी, पेट्रोलियम पदार्थ (डिजेल) को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको छ ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि मूल्य वृद्धिको कारक मानिएको छ । विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वात्मक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावका कारण कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको महासंघको ठहर छ ।
हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गरेर राष्ट्रिय अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यो क्षेत्र हालको लागत वृद्धिले गर्दा धाराशायी हुने अवस्थामा पुगेको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताउनुभयो ।
‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो,’ विज्ञप्तिमा छ, ‘हाल कायम मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा हामी पुगेका छौं ।’ महासंघले सबै सदस्य उद्योगीहरूलाई कच्चा पदार्थ र सञ्चालन लागतमा भएको वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ । महासंघले सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहल मार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका उपायहरू अवलम्बन गर्न माग गरेको छ ।
साथै, आम उपभोक्ता, वितरक र सरोकारवालाहरूलाई उद्योगको संरक्षण, रोजगारीको रक्षा र सेवाको निरन्तरताका लागि गरिएको यो ‘बाध्यात्मक’ मूल्य समायोजनमा सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*