प्रदेशलाई ‘तालिम केन्द्र’ नबनाऔँः मुख्यमन्त्री बानियाँ
३ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकार र प्रदेश सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीसँगको पहिलो समन्वय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशका समस्या, बजेट कटौती र प्रशासनिक चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । मुख्यमन्त्री बानियाँले केन्द्रबाट पठाइने प्रमुख प्रशासकीय अधिकृतहरूको छोटो समयमै हुने सरुवाप्रति आपत्ति जनाउनुभयो ।
कर्मचारीको अस्थिरताले कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्दै उहाँले सचिव र प्रशासकीय अधिकृतहरूको कार्यकाल कम्तीमा २ वर्ष सुनिश्चित गर्न माग गर्नुभयो । यस विषयमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिँदै कम्तीमा एक वर्षको कार्यकाल तोक्न सचिवहरूलाई निर्देशन दिएको बानियाँले बताउनु भयो ।
बैठकमा मुख्यमन्त्रीले प्रदेशले पाउने समानीकरण, सशर्त र विशेष अनुदानको आकार घट्दै गएकोमा चिन्ता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । विगतमा १०० करोडसम्म हुने सशर्त अनुदान अहिले ३० करोडमा झरेको भन्दै उहाँले प्रदेशका गौरवका आयोजनाहरूमा केन्द्रले समन्वय र लगानी बढाउनुपर्ने बताउनु भयो । विशेषगरी सडक पूर्वाधारलाई मजबुत बनाउन उहाँले आग्रह गर्नुभयो । विपन्न नागरिकले शिक्षा र उपचार नपाएर निराशा हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने विषयलाई मुख्यमन्त्रीहरुले जोडदार रूपमा उठाउनुभएको उहाँले बताउनु भयो ।
वीपी राजमार्ग बन्द हुँदा काठमाडौं जोड्ने वैकल्पिक ‘लाइफलाइन’ को रूपमा रहेका कान्ति लोकपथ, हुमाने–कुलेखानी ड्याम र दक्षिणकाली–सिस्नेरी सडकलाई व्यवस्थित गर्नुपर्ने माग उहाँले राख्नुभएको छ । प्रधानमन्त्रीले पनि यी सडकहरूको अवस्थाबारे विशेष चासो राख्नुभएको र आगामी सिजनसम्म यी सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउने मुख्यमन्त्रीले विश्वास दिलाएको बताउनु भयो । प्रधानमन्त्रीसँगको करिव ३ घण्टा लामो बैठक अत्यन्तै सौहार्दपूर्ण र हार्दिकतापूर्वक सम्पन्न भएको मुख्यमन्त्री बानियाँले बताउनु भयो । मुख्यमन्त्री बानियाँले वर्तमान सरकारसँगै सहकार्य गरेर मुलुकलाई संकटबाट निकासतर्फ लैजान आफूहरू प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।











