ओभरलोड सामग्री बोकेका १३ वटा टिपर प्रहरीको नियन्त्रणमा
१३ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ओभरलोड सामग्री बोकेका १३ वटा टिपर नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ करिब ६ बजे हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेका टिपरहरू जाँच गर्ने क्रममा उक्त सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीले जाँचका क्रममा टिपरहरूमा चुनढुङ्गा ओभरलोड भएको तथा आवश्यक विल (कागजात) समेत नभएको फेला पारेको जनाएको छ ।
ती सवारी साधनहरू नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको र हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका टिपरहरूमा म.प्र.०३–००१ क २५९५, म.प्र.०३–००१ क २५८१, बा.प्र.०३–००१ ख १२७३, बा.प्र.०३–००१ ख १२७२, ना ८ ख ४३८२, म.प्र.०३–००१ क २५९१ रहेका छन् ।
यस्तै, म.प्र.०३–००१ क २५८३, बा.प्र.०३–००१ ख १२७०, ना ८ ख ५०२९, ना १ क ८७०१, ना १ क ८६९८, ना १ क ८६९६ र बा.प्र.०३–००१ ख ४६६२ नम्बरको टिपर प्रहरी नियन्त्रणमा लिइएको हो ।











