विगतको नजिरलाई हेरेर म्याद थपको प्रक्रिया अघि बढाउँछौँः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
१४ बैशाख २०८३, सोमबार १८:२४

१४ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने बताउनुभएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले विकास निर्माणको कार्यमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सरकारी राजश्वको ठुलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकोले निजी क्षेत्रको माग प्रति सरकार लचिलो हुनुपर्ने उहाँको धारणा छ । निर्माण साम्रगीमा भएको अस्वाभाविक मुल्यबृद्धिबाट निर्माण व्यवसायीमा पर्न गएको असर प्रति सरकार संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो ।
कानुनी उपचार र विगतको नजिरलाई हेरेर आयोजनाको म्याद थपको प्रक्रिया थाल्ने आश्वासन समेत मुख्यमन्त्री बानियाँले दिनुभयो । उहाँले संघीय र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरी निर्माण व्यवसायीको मागलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले विगतमा भएका कमीकमजोरीहरु सुधार्न पनि व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुहुँदै उहाँले व्यवसायीहरुले टेण्डर प्राप्त गर्ने सवालमा संस्थागत मर्यादालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।


महासंघका प्रदेश अध्यक्ष छत्रबहादुर तामाङको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण सामाग्रीहरुको अप्रत्याशित एवं अत्याधिक मूल्यवृद्धि र बजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्पसँगै धराशायी हुने अवस्थामा पुगेको भन्दै महासंघले मूल्य समायोजनको माग गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*