चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी नयाँ स्थानीय तह गठन गर्न माग
१६ वैशाख, हेटौँडा । चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग गर्दै नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका संघका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर नयाँ स्थानीय तह गठन गर्नुपर्ने तथा ती पालिकाहरूको नामकरण चेपाङ भाषामा गर्नुपर्ने माग अघि सारेका हुन् । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले ध्यानाकर्षण पत्रमार्फत चेपाङ बाहुल्य रहेको चितवन, धादिङ र मकवानपुर जिल्लाका वडाहरू समेटेर छुट्टाछुट्टै गाउँपालिका गठन गर्न प्रस्ताव गरेका छन् । प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिका–१ र २ नम्बर वडा, कालिका नगरपालिकाका वडा नम्बर १० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर “झोरालाङ गाउँपालिका” बनाउन माग गरिएको छ ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर “रोराङ गाउँपालिका” बनाउन संघले आग्रह गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम यथावत राख्नुपर्ने माग पनि गरिएको छ । यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्नुपर्ने माग राखिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा बिदा दिँदै आएको उल्लेख गर्नुभयो । स्थानीय तहसँग समन्वय गरेर समुदायको हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् । मकवानपुर जिल्लामा १९ हजार २ सय ३३ जना चेपाङको बसोबास रहेको तथ्यांक छ ।











