जनताको जीवनस्तर सुधार्न नेतृत्वमा स्पष्ट दृृष्टिकोण हुनुपर्छः मुख्यमन्त्री बानियाँ
१५ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्ने बताउनुभएको छ ।
नेपाली राजनीतिमा देखिएको बोली र व्यवहार बिचको खाडलले प्रभावकारी काम हुन नसकेको उहाँको भनाई छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरूमा नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संघीयतालाई सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबिच तादम्यता हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन नीति र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रशासन संयन्त्र सक्रिय, निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी नभएसम्म जतिसुकै राम्रो नीति बनाए पनि त्यसको प्रतिफल जनताले नपाउने उहाँको धारणा छ । मुख्यमन्त्री बानियाँले नेतृत्व र कार्यान्वयन पक्षको गति नमिल्दा नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा सोचेअनुसारको परिवर्तन आउन नसकेको बताउनुभयो । अबका नीतिहरू दोहोरो अर्थ लाग्ने खालको नभई स्पष्ट र नतिजामुखी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँले संघीयतालाई संस्थागत गर्नका लागि संघीय सरकारले निजामती सेवा ऐन, प्रहरी ऐन, वन र भूमि सम्बन्धी कानुनहरू यथाशीघ्र निर्माण गरी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
जनता बलियो भए मात्र राज्य बलियो हुने उहाँले उल्लेख गर्नुभयो । नागरिकको हित र विकास निर्माण तथा समृद्धिका लागि तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुसार काम हुनुपर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो । कार्यशालामा विज्ञद्वय उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन र सुधारका मार्गचित्र र डा. नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभूत चुनौतीहरू र समाधान बारे प्रस्तुति दिनुभएको थियो ।











