विभेदपूर्ण वित्तीय प्रणाली फेरबेदलको माग गर्दे ज्ञापनपत्र पेश

स्वर्णिम खबर
१६ बैशाख २०८३, बुधबार १५:५६

१६ वैशाख, हेटौँडा । विभेदपूर्ण वित्तीय प्रणाली फेरबेदलको माग गर्दे वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मकवानपुर शाखाले संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै वित्तीय प्रणालीमा सुधारको माग गरेको हो । जिल्ला अध्यक्ष धमित्र बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । देशभरका किसान, मजदुर तथा साना–मझौला व्यवसायीहरू वित्तीय संस्थाबाट पीडित भइरहेको भन्दै तत्काल नीतिगत हस्तक्षेप गर्न आग्रह गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
हालै निर्वाचित सरकारबाट जनताले ठूलो आशा राखे पनि आर्थिक तथा वित्तीय उत्पीडनको समस्या समाधान हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर, धितो लिलामी, र ऋण असुलीलाई कडाई गर्दा आम नागरिक थप समस्यामा पारेको उनीहरुको जिकिर छ । ज्ञापनपत्रमा अनुसार वित्तीय पहुँच सीमित हुँदा किसान तथा मजदुर वर्ग झन् जोखिममा परेका छन् भने साना उद्यमीहरू व्यवसाय टिकाउनै नसक्ने अवस्थामा पुगेका उल्लेख गरिएको छ ।


बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको घरजग्गा लिलाम गर्ने, चेक बाउन्सका मुद्दा दर्ता गर्ने जस्ता गतिविधिले सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको उनीहरुको आरोप रहेको छ । कोभिड–१९ पछिको आर्थिक मन्दीले झन् समस्या बढाएको भन्दै सरकारको निष्क्रियताप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
आर्थिक संकटका बेला राहत दिनुपर्नेमा राज्यले उल्टै वित्तीय संस्थाहरूलाई स्वतन्त्र छाड्दा सर्वसाधारण थप मारमा परेको अध्यक्ष कार्कीले बताउनुभयो । चर्को ब्याजदर नियन्त्रण, ऋण असुली प्रक्रियामा मानवीयता अपनाउने, साना व्यवसायी तथा किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, तथा वित्तीय संस्थाहरूलाई कडाइका साथ नियमन गर्ने उनीहरुको माग रहेको छ । साथै, दीर्घकालीन समाधानका लागि वित्तीय संस्थाहरूको राष्ट्रियकरण गर्दै जनमुखी वित्तीय प्रणाली विकास गर्नुपर्ने माग पनि गरिएको छ । ज्ञापनपत्र मार्फत उनीहरुले सरकारलाई वार्तामा बस्न र समस्याको समाधानतर्फ ठोस कदम चाल्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*