सञ्चारमाध्यममा आउने कपोकल्पित समाचारले काम गर्न असहजः मुख्यमन्त्री बानियाँ

‘प्रशासन चलाउने र शासन चलाउनेबीच छलफल हुनु स्वभाविक’
स्वर्णिम खबर
१७ बैशाख २०८३, बिहीबार १८:२४

१७ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सञ्चारमाध्यममा आउने कपोकल्पित समाचारले प्रदेश सरकारलाई काम गर्न असहज भएको गुनासो गर्नुभएको छ ।
बिहिबार मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीहरुसंगको अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेशबासीको हितमा सरकारले काम गरिरहे पनि तथ्यहिन समाचार आउने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । काम गर्ने सिलसिलामा प्रशासन चलाउने र शासन चलाउने बीच छलफल हुनु स्वभाविक भएपनि त्यसलाई कतिपय सञ्चारमाध्यमले अतिरञ्जित ढंगले प्रस्तुत गरेको उहाँको भनाई छ । यस किसिमको प्रवृत्तिले स्वतन्त्र, निष्पक्ष र खोजमुलक पत्रकारिता माथि नै गम्भीर प्रश्न उठेको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
उहाँले तथ्य र सत्यमा आधारित समाचार प्रकाशन गर्न आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री बानियाँले बजेट खर्चको अवस्थादेखि जनतालाई चुस्तदुरुस्त सेवा दिन मन्त्रालयका सचिवहरुसंग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो । विशेष गरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने यातायात कार्यालयहरुको डिजिटलाइजेशन प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कतिपय आयोजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढाउने कि नबढाउने भन्ने विषयमा प्रमुख सचिवसंग सामान्य मतभेद भएको मुख्यमन्त्री बानियाँले स्वीकार गर्नुभयो । यद्यपि सञ्चारमाध्यममा समाचार आएको जस्तो नभएको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री बानियाँले विगतको अभ्यास भन्दा प्रदेश सरकारले फरक ढंगले अघि बढ्न मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार कम रकम विनियोजन भएको योजनाहरुलाई निश्चित मापदण्ड बनाएर बहुवर्षीय ठेक्का मार्फत् सरकारले अघि बढाउन खोजेको हो ।


मुख्यमन्त्री बानियाँले सञ्चार माध्यमहरुलाई नियमन गर्ने निकायहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । समाजलाई सही दिशामा लैजान सञ्चारकर्मीहरुले नकारात्मक समाचारहरुलाई प्रक्षय दिन नहुनेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँले गठबन्धन दलबीचको छलफलबाटै वैशाख महिनाभित्रै सभामुखको टुंगो लाग्ने बताउनुभयो । मन्त्रालयको संख्यामा भारी गिरावट हुने पनि उल्लेख गर्दै उहाँले राम्रो काम गर्न धेरै सकस हुने पनि बताउनुभयो । राजनीतिक सहमतिको आधारमा प्रादेशिक प्रशासनिक पुनर्संरचनाको लागि गठित समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान पनि उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री बानियाँले मन्त्रालय कटौतीको निर्णय बजेट भन्दा अगाडि नै आउने र नयाँ आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन हुने पनि बताउनुभयो ।
अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव बाबुराम गौतमले कार्यालयको कामकारवाहीको विषयमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । कार्यालयसंग जोडिएका समाचार प्रकाशन गर्नुपूर्व आधिकारिक व्यक्तिसंग सुचनाको सत्यता बारे जानकारी लिई तथ्यमुलक समाचार प्रकाशन गर्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, सचिव रामबाबु पुरी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*