नीति निर्माण गर्दा निजी अस्पताल संचालकहरुसंग समन्वय गर्नुपर्नेमा जोड
१९ वैशाख, हेटौँडा । निजी अस्पताल संचालकहरुको संस्था अफिन चितवनको ८ औ बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदम बहादुर खड्काको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्दा राज्यले निजी अस्पताल संचालकहरुसंग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
अफिन चितवनका अध्यक्ष बिक्रम अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं चिकित्सा महाशाखा प्रमुख दिनेश रुपाखेती, मेडिसिटि अस्पतालका अध्यक्ष पेन्द्र महतो बिशिष्ट अतिथि रहनु भएको थियो ।
साधारण सभामा अफिन चितवनका उपाध्यक्ष भरत रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव रघुनाथ सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा सहभागी अस्पताल संचालकहरुले सामाजिक उत्तरदायित्व बहन गर्न तयार रहेको बताएका छन् । उनीहरुले सामाजिक उत्तरदायित्व बहन गराउँदा राज्यले अफिनसंग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।












