मिडियामा अंकुश लगाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त

व्यवहारमा प्रेस अझै स्वतन्त्र हुन सकेन
स्वर्णिम खबर
२० बैशाख २०८३, आईतवार १७:५२

२० वैशाख, हेटौँडा । मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइए पनि व्यवहारमा प्रेस अझै पूर्ण रूपमा स्वतन्त्र हुन नसकेको बताउनुभयो । उहाँले सरकारबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मिडियामाथि अंकुश लगाउने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर हुने बताउनुभयो ।
प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले लोकतन्त्र स्थापनामा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै अहिलको समयमा पत्रकारितालाई नै सबैभन्दा बढी कमजोर बनाउने काम भएको बताउनुभयो । सामाजिक सञ्जाललाई नै आम सञ्चारमाध्यम ठान्ने प्रवृत्तिले चुनौती थपिएको उहाँको भनाइ थियो ।
पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले नेपालमा मात्र नभई विश्वभर प्रेसमाथि आक्रमण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पत्रकारहरूले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले पछिल्लो समय सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने निर्णय सरकारकै नीति विपरित रहेको टिप्पणी गर्नुभयो ।
स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठले निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सन्तुलित समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो ।


त्यस्तै, महासंघ बागमती प्रदेश समिति सदस्य सुवर्णलाल श्रेष्ठले पत्रकारिता क्षेत्रमा बढ्दो एकपक्षीयता प्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरू स्वतन्त्र रूपमा काम गर्न नसकेको अवस्था रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्प अधिकारीले प्रेसमाथि नियन्त्रण गर्न खोज्नु लोकतन्त्र र नागरिक अधिकारमाथिको प्रहार भएको बताउनुभयो । उहाँले मिडियालाई नियन्त्रण होइन, जिम्मेवार ढंगले नियमन गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहालले महिलाका लागि सञ्चार क्षेत्र चुनौती र अवसर दुवै भएको बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी प्रमोद सहनीले श्रमको उचित मूल्याङ्कन नहुँदा पत्रकारहरूले समयमै पारिश्रमिक नपाउने समस्या रहेको बताउनुभयो । आफूले काम गरेको संस्थाले १० महिनाको पारिश्रमिक नदिएको विषयलाई सम्बन्धित निकायसमक्ष उजुरी दिएपनि सम्बोधन नभएको गुनासो गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले प्रेस स्वतन्त्रता गहन विषय भएको उल्लेख गर्नुभयो । राजनीतिक दलसँग आबद्ध पत्रकारिताले स्वतन्त्रताको मर्म कमजोर बनाउने धारणा राख्नुभयो । ह्यूमन राइट्स मकवानपुरकी प्रतिनिधि कुमारी वाइबाले आवाजविहीनको आवाज उठाउँदा समेत पत्रकारमाथि आक्रमण हुने गरेकोमा चिन्ता जनाउनुभयो । उहाँले मिडियामाथिको चौतर्फी दमन रोक्न र राष्ट्रको चौथो अंगको संरक्षण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वक्ताहरूले मिडियामाथि बढ्दो दबाब, असुरक्षा, आर्थिक समस्या, विश्वसनीयतामा आएको कमि तथा सामाजिक सञ्जालसँगको प्रतिस्पर्धा जस्ता विषयमा आवाज उठाएका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*