नेपाली सेनाको योगदानको उच्च कदर गर्नुपर्छः प्रदेश प्रमुख देवकोटा
१७ फागुन, हेटौँडा । बागमती प्रदेशको प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा सेनाले विगतदेखि नै योगदान दिंदै आएको उहाँको भनाई छ । महाशिवरात्री तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी–वाकथुन तथा (एडभेन्चर च्यालेन्ज) प्रतियोगिता २०८१ कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने बिभिन्न विपत्तिमा जनताहरुको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आईरहेको जिकिर गर्नुभयो ।
जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागी नेपाली सेना निरन्तर लागि रहेकोले सेनाको योगदानको उच्च कदर गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले प्रदेश स्तरमा आयोजना गरिएको यस वाकथुन तथा (एडभेन्चर च्यालेन्ज ) प्रतियोगिता–२०८१ कार्यक्रमले नेपाली सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनाका पृतनापती हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवं, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख ज्यूहरु तथा वाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।













