नैतिक शिक्षा र पूर्वव्यवसायीक शिक्षालाई अनिवार्य गर्न जरुरीः मन्त्री खड्गी

स्वर्णिम खबर
१७ फाल्गुन २०८१, शनिबार १६:५८

१७ फागुन, हेटौँडा । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले विद्यालय तहमा नैतिक शिक्षा र पूर्वव्यवसायीक शिक्षा अध्यापनको तयारी भइरहेको बताउनुभएको छ ।
२०६२÷६३ सालपछी पाठ्यक्रम परिमार्जन हुँदा हटाइएको दुबै विषय पुनः अध्यापन गराउनका लागि प्रदेश सरकारले गृहकार्य थालेको मन्त्री खड्गीले जानकारी दिनुभयो । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ बागमती प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्गीले नैतिक शिक्षा र पूर्वव्यवसायीक शिक्षालाई अनिवार्य विषयका रुपमा लैजाने गरि अध्ययन गरि प्रतिवेदन तयार भइसकेको बताउनुभयो ।
बागमती प्रदेशका १३ वटै जिल्लामा यी विषय अध्यापन गराउने प्रदेश सरकारले तयारी गरेको उहाँले बताउनुभयो । विद्यार्थीलाई शिक्षाका साथै नैतिकता र व्यवहारिक ज्ञान पनि अत्यावश्यक रहेको उहाँको भनाई छ ।
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ बागमति प्रदेश अध्यक्ष जेएस पौडेलले गुठिद्धारा सञ्चालित विद्यालयलाई राज्यले उपेक्षा गरेको आरोप लगाउनुभयो । सार्वजनिक शैक्षिक गुठी एक गैरनाफामूलक संस्था भएपनि राज्यले कर लिनेगरेको प्रति उहाँको दुखेसो थियो । सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूलाई हेरिने दृष्टिकोणमा राज्य स्पष्ट हुनुपर्नेमा उहाँको जोड थियो ।
नेपालमा सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित विद्यालय ५ सय भन्दा बढी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*