अञ्चलमा दर्ता भएका सवारीलाई प्रादेशिकीकरण गर्न समस्याः अध्यक्ष श्रेष्ठ
१७ फागुन, हेटौँडा । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले मुलुक संघीयतामा गएपनि सवारी दर्ता गर्ने पद्धतिमा परिवर्तन आउन नसकेको बताउनुभएको छ ।
संघको शनिबार हेटौंडामा भएको ३६ औं साधारणसभा एवम् १६ औँ अधिवेशनमा बोल्नुहुँदै अध्यक्ष श्रेष्ठले विगतमा अञ्चलमा दर्ता भएका सवारीलाई प्रादेशिकीकरण गर्न समस्या भएको बताउनुभयो ।
साविक अञ्चलमा दर्ता भएका सबै सवारी साधनलाई प्रदेशको संरचनामा दर्ता गर्ने बातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले रोड पर्मिट दिने कार्य अन्यन्तै झण्झटिलो भएको समेत जिकिर गर्नुभयो । पर्मिट नभएकै कारण धरान चतरा सडकखण्ड र कान्तिलोकपथ सडकमा दुर्घटना हुँदा बिमादाबी गर्न समस्या भएको उहाँले बताउनुभयो । २०६६ मा जारी भएको बिमा ऐनलाई पनि समय सापेक्ष संशोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले राजमार्गमा सुरक्षा चेकजाँचको नाम व्यवसायीलाई असहज भएको बताउनुभयो । कार्यक्रममा संघले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकोमा यो वर्ष नगद ५१ हजार रुपियाँ सहयोग गरेको छ । त्यस्तै लामो समयदेखि दुर्घटना नगराउने पाँच जना चालकलाई जनही नगद १० हजार रुपियाँ सहित सम्मान गरिएको छ । चालक हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई सम्मान गरिएको हो । साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टिमले व्यावसायीको स्वास्थ्य परीक्षण गरेको थियो ।













