ऐन संशोधन मार्फत यातायात व्यवसायीहरुको समस्यालाई समाधान गरिनेछः मुख्यमन्त्री लामा

मनिल महतो
१७ फाल्गुन २०८१, शनिबार १५:११

१७ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यातायात सम्बन्धी ऐनलाई संशोधन गरिने बताउनुभएको छ ।
नारायणी यातायात व्यावसायी संघको ३६ औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशन समारोहलाई शनिबार हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले ऐन संशोधन मार्फत यातायात व्यवसायीहरुको समस्यालाई समाधान गरिने बताउनुभयो । सरकारले गर्नुपर्ने कतिपय कामहरु यातायात व्यवसायीहरुले गरिरहेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तत्पर रहेको जिकिर गर्नुभयो । दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने समेत उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले ऐन बनाउने भन्दा पनि बनेका ऐनको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशको २० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताउनुभएको छ । उहाँले २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा राखिएको जानकारी दिनुभयो । अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद् विन्दावासिनी कसांकार, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले यातायात सम्बन्धी समस्या समाधान गर्न आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*