उच्च अदालत बार एशोसिएशन हेटौंडाको साधारणसभा सम्पन्न
१५ फागुन, हेटौँडा । उच्च अदालत बार एशोसिएशन हेटौंडाले वरिष्ठ अधिवक्तादेखि कर्मचारीलाई सम्मान गरेको छ ।
एशोसिएशनको साधारणसभा तथा अधिवेशनको अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद कँडेल, ईश्वर राज ढकाल, रामेश्वार प्रसाद कोइराला, बाबुराम दाहाल, ध्रुव प्रसाद चौलागाईलाई सम्मानित गरिएको हो ।
यस्तै कार्यालय सहयोगी ज्ञानु परियारलाई पनि सम्मानित गरिएको छ । एशोसिएशनका निवर्तमान अध्यक्ष सुशील कुमार पोखरेल, अधिवक्ता रिमा प्याकुरेल, प्रकाशन समितिका संयोजक शिव प्रसाद बन्जारा, सदस्य सुवासचन्द्र अधिकारी, सदस्य सुजन तिमल्सिना, अर्थ समितिकी संयोजक श्रद्धा ढुंगाना, सदस्य मोहन प्रसाद ढकाल, सम्पत काफ्लेलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
उच्च अदालत पाटन हेटौंडाकी न्यायाधिश यमुना भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उच्च अदालत बारका अध्यक्ष अरुण प्रसाद खतिवडाले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उच्च अदालत बारका पूर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु, पत्रकार महासंघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बार र अदालतमा समन्वय र सहकार्य जरुरी भएको बताएका थिए । न्याय सम्पादनमा स्वच्छता ल्याउन बार र अदालत एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनीहरुको भनाई थियो । उच्च अदालत बार एशोसिएशन हेटौँडाको अधिवेशन फागुन १७ गते हुनेछ ।













