युवा लक्षित विभिन्न ६ प्रकारका सीपमूलक तालिम सुरु

स्वर्णिम खबर
९ फाल्गुन २०८१, शुक्रबार १८:५५

९ फागुन, हेटौँडा । युवा जनशक्तिलाई सीपविकास मार्फत् दक्ष बनाउने उद्देश्यले बागमती प्रदेश युवा परिषद्ले युवा लक्षित विभिन्न ६ प्रकारका सीपमूलक तालिम सुरु गरेको छ ।
हेटौंडामा शुक्रबारबाट सुरु भएको तालिमको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुभएको हो । युवा सिप वर्ष अन्तर्गत सञ्चालित तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले युवाशक्तिलाई देशमै स्वरोजगार बनाउन बागमति प्रदेश सरकारले यस्ता तालिमको आयोजना गरेको बताउनुभयो ।
नेपालका सातैप्रदेश मध्ये बागमति प्रदेशले मात्रै युवा लक्षित कार्यक्रम ल्याएको उहाँको दाबी छ । युवा जनशक्तिलाई सक्षम बनाउन, खेलकुद क्षेत्रलाई चलायमान बनाउन यस भन्दा अगाडीको सरकारले आवश्यक बजेट विनियोजन नगरेको भन्दै मन्त्री महर्जनले गुनासो गर्नुभयो ।
बागमति प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईले सीप वर्षमा ७–८ हजार युवा जनशक्तिलाई स्वरोजगारमूलक तालिम प्रदान गरी सीपयुक्त युवा उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । सूचना र समन्वयको अभावले युवा र सरकारबिच दूरी बढ्दै गएको उहाँले बताउनुभयो ।
३९० घण्टे र १६० घण्टे निःशुल्क तालिम अन्तर्गत बिल्डिङ ईलेक्ट्रिसियनमा २० जना, कुक तालिममा ४० जना, मन्टेश्वरीमा ८० जना सहभागी रहेका छन् । यस्तै, बारिष्ठा अर्थात् कफि बनाउने तालिममा ६५ जना, ब्यूटीसियनमा ८० जना, र वेटर विधामा २० युवा सहभागि रहेको प्रदेश युवा परिषद्ले जनाएको छ ।
तालिम उद्घाटन समारोहमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौड़ा उपमहानगरपालिका–४ का अध्यक्ष नबीन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जल चौलागाईं,गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*