पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश सरकारको विरुद्धमा होइनः अध्यक्ष थापा
९ फागुन, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको बताउनुभएको छ ।
मुलुकले भोग्नुपरेको संकटको मुक्तिको निम्ति र प्रजातन्त्रलाई बलियो बनाउने तर्फ सोच्न पूर्व राजाले आग्रह गर्नुभएको उहाँको भनाई छ । शुक्रबार हेटौंडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले राजा र जनताको बीचमा साझेदारी आजको आवश्यकता भएको बताउनुभयो ।
राष्ट्रिय मेलमिलापको राजाको प्रस्तावलाई सकारात्मक ढंगले ग्रहण गर्न उहाँले एमाले, कांग्रेस, माओवादी लगायतका दललाई आग्रह समेत गर्नुभयो । सम्पूर्ण दोष राजालाई देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि उहाँले राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो । अध्यक्ष थापाले पूर्व राजाको एउटै आह्वानमा नेपाली जनता सडकमा उत्रिन सक्ने समेत जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले राजेन्द्र लिङदेन र दिपकबहादुर सिंह तर्फ संकेत गर्दै महाधिवेशनको म्यान्डेट विपरीत राप्रपा सरकारमा गएको आरोप लगाउनुभयो । उहाँले आफु पार्टी एकताको पक्षमा भएको समेत बताउनुभयो तर लिङदेन र सिंहले अपमानजनक ढंगले हेटौंडामा केही समयअघि एकताको विरुद्धमा अभिव्यक्ति दिएको उहाँको बुझाई छ । अध्यक्ष थापाले सबै हिन्दुवादी, राष्ट्रवादी दलहरु मिलेर पूर्व राजाको आह्वानलाई साकार पार्नुपर्ने समेत बताउनुभयो ।
अध्यक्ष थापाले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने समेत टिप्पणी गर्नुभयो ।













