सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदको लागि यादवको उम्मेदवारी घोषणा
७ फागुन, हेटौँडा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल लायन वर्ष सन् २०२५÷२६ का लागि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदको लागि चार्टर प्रेसिडेन्ट लायन जेपि यादवले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले गभर्नर पदको लागि उम्मेदारी घोषणा गर्नुभएको हो । केवल पद प्राप्त गर्ने प्रयासको लागि मात्र नभई जिम्मेवारी पुरा गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको यादवले बताउनुभयो । डिस्ट्रिक्ट गभर्नरले अघि सारेको नारालाई आत्मसात् गर्दै कार्यहरु गर्ने उहाँको प्रतिबद्धता छ ।
पत्रकार सम्मेलनमा यादवले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेदेखि आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको लागि छात्रवृत्तिको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पर्यावरण संरक्षणको लागि फोहोर व्यवस्थापन सचेतना कार्यक्रमलाई अगाडि बढाउने उहाँको योजना छ । त्यसैगरी सडक बालबालिकाको लागि पुनस्र्थापनाको अभियान सञ्चालन गरिने समेत उहाँले बताउनुभयो । नेतृत्व तथा क्षमता विकास तालिमलाई थप प्रभावकारी बनाइने यादवको प्रतिबद्धता रहेको छ ।
महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नेदेखि साइबर सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्मको योजना यादवको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।













