राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्रः प्रधानमन्त्री ओली
७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताउनुभएको छ ।
बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गर्नुभयो । उहाँले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्य वीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गर्नुभयो । युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो ।
प्रधानमन्त्री ओलीले फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको बताउनुभयो । भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले फागुन ७ लाई बिर्सनै नमिल्ने उहाँको भनाई छ ।
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार समग्र विकास मार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमानदारीपूर्वक हिँडिरहेको बताउनुभयो ।













