राज्य संयन्त्रलाई सञ्चारक्षेत्रले निरन्तर खबरदारी गरिरहनुपर्छः मन्त्री लामिछाने
६ फागुन, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टचारको न्युनिकरण र विकृति, विसंगति अन्त्यको लागि सञ्चारक्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार हेटोंडामा भएको जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री लामिछानेले राज्य संयन्त्रलाई सञ्चारक्षेत्रले निरन्तर खबरदारी गरिरहनुपर्ने बताउनुभयो । सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकता कायम गर्न सञ्चारक्षेत्र जिम्मेवार भुमिकामा हुनुपर्ने उहाँको भनाई छ । यसको लागि राष्ट्रिय समाचार समितिले खेलेको भुमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

मन्त्री लामिछानेले राससले पहिलो खबर भन्दा पनि सही खबर दिने नीतिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय एआईले विकृति ल्याएको भन्दै त्यसतर्फ पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले राससले सरकारको पक्षपोषण मात्र गर्न नहुनेमा जोड दिएका थिए । निजी क्षेत्रका मिडियाहरुको समेत रोेलमोडल बन्ने गरि रासस अगाडि बढ्नुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा राससका बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माले राससले उपलब्ध गराउँदै आएको सेवा बारे प्रकाश पारेका थिए ।













