२५ वटा गोरुहरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरको नियन्त्रणमा
५ फागुन, हेटौँडा । हेटौँडा हुँदै बारातर्फ गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
२५ वटा गोरुहरु बोकेको बागतमी प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिएको हो । हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भइपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिनुभयो ।
सोमबार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको बताउनुभयो । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताउनुभयो ।
छानविनका क्रममा सो गोरुहरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र सो पश्चात अर्को ट्रकमा हालेर बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरले जानकारी दिनुभयो । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उहाँले बताउनुभयो ।
सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क वापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रति गोटा २ सय रुपैयाँ निर्धारण गरेको छ ।













