जलवायु परिवर्तनका कारण जीविकोपार्जनमा समेत खतराहरु बढ्दै छः राष्ट्रपति पौडेल

स्वर्णिम खबर
४ फाल्गुन २०८१, आईतवार १२:३३

४ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताउनुभयो । उहाँले विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाल वातावरणीय प्रकोपका निर्दोष पीडित भएको समेत बताउनुभयो । उहाँले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरु न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकार यसको जीवन रेखा भएको उहाँको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्नुुहँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पारदर्शिता, सूचनाको हकको प्रत्याभुति र वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्ण रहेको बताउनुभयो ।
उहाँले सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरुको क्रियाशिलता पनि अपरिहार्य रहेको उल्लेख गर्नुभयो । समयानुकुल मानव अधिकरको सवालहरुमा आजको कानून एवं न्यायिक दक्ष जनशक्तिको भुमिका अपेक्षित रहेको उहाँको भनाई छ ।
प्रधानन्यायाधीश राउतले वातावरणीय न्यायको सन्दर्भमा नेपालको न्यायपालिकाले विगतदेखि नै प्रभावकारी भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*