सुचना माग्ने पक्षको नियत सही हुनुपर्ने सरोकारवालाहरुको भनाई

स्वर्णिम खबर
३ फाल्गुन २०८१, शनिबार १८:२९

३ फागुन, हेटौँडा । सुचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक राष्ट्रिय कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।
सुचना मागौँ , भ्रष्टाचारको अन्त्य गरौँ भन्ने उद्देश्यले सुचनाको हकका लागि राष्ट्रिय महासंघले कार्यक्रम गरेको हो । महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको अध्यक्षता एवम् राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त डा.सुरेश आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्नुहुँदै आचार्यले सुचना माग्ने पक्षको नियत सही हुनुपर्ने बताउनुभयो ।
एउटा उद्देश्यको लागि सुचना माग गरेर अर्को प्रयोजनाको निम्ति सुचना प्रयोग हुने प्रवृत्ति बढ्दै गइरहेको उहाँले बताउनुभयो । आयुक्त आचार्यले नागरिक पीडित छ वा छैन , राज्य पारदर्शिता छ वा छैन र राज्यले अनाहकमा दुख पाइरहेको छ भन्ने विषयमा मात्र सुचना माग्न पाउने व्यवस्था भएको उल्लेख गर्नुभयो । सुचनाको दुरुपयोग भइरहेको भन्दै उहाँले नागरिकको अधिकार कुण्ठित गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
यसैगरी उहाँले कार्यालयहरुले २० वर्ष भन्दा अगाडिको सुचना पनि आवश्यक रुपमा दिनुपर्ने बताउनुभयो । प्रमुख आयुक्त आचार्यले कार्यालयहरुको आफ्ना सुचना अधिकारीहरु पनि समयसमयमा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले स्थानीय तहमा गरिएको सुचनाको हक कार्यान्वयन परीक्षण र राष्ट्रिय जन वकालत मञ्च नेपालका अनुसन्धानकर्ता भोला भट्टराईले सीमान्तकृत चेपाङ समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक अधिकारका लागि सूचना र संचार क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक तथा कानुन मन्त्रालय बागमती प्रदेश सुचना महाशाखा प्रमुख हरिहर पोखरेल, बागमती प्रदेश सरकार पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, राष्ट्रिय सुचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*