भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपाललाई सयमा ३४ अंक प्राप्त

स्वर्णिम खबर
२९ माघ २०८१, मंगलवार १३:१८

२९ माघ, काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांक अनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नतिजाअनुसार भ्रष्टाचारबिरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याइएको छ । दक्षिण एशियाली राष्ट्रहरुमध्ये भूटान ७२, भारत ३८, माल्दिभ्स ३८, श्रीलंका ३२, पाकिस्तान २७, बंगलादेश २३, अफगानिस्तानको १७ अंक रहेको छ । चीनले ४३ अंक प्राप्त गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स (सिपिआई) २०२४ (भ्रष्टाचार अवधारणा सूचकाङ्क—२०२४) मा १८० देशहरु सम्मिलित छन् ।
यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताउनु भयो । उहाँका अनुसार यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वल्र्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणका तथ्यांकले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यवसायिक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखाएको बताउनु भयो ।
नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*