सुशासन बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैनः राष्ट्रपति पौडेल
२८ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताउनुभएको छ ।
सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रपति पौडेलले नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउने उहाँको भनाई छ ।
उहाँले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सधैँ चनाखो रहनुपर्ने बताउनु भयो । ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको भन्दै उहाँले यसमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा पनि समस्या आएको गुनासो आइरहेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले सूचना र प्रविधिको तिब्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको बताउनु भयो ।













