बागमती प्रदेशसभाः प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित ५ वटा विधेयक पेश

स्वर्णिम खबर
२३ माघ २०८१, बुधबार १५:३८

२३ माघ, हेटौँडा । बागमती प्रदेशसभामा ५ वटा विधेयक पेस भएको छ ।
बुधबार बसेको बैठकमा संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित ५ वटा विधेयक पेस भएको हो । बैठकमा स्वास्थ्य मन्त्री किरण थापाको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको थियो भने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक प्रदेशसभामा टेबल गर्नुभएको हो ।
त्यस्तै बैठकमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभएको थियो ।
बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि संसद्मा पेस भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उक्त विधेयकमा प्रदेश प्रमुख देवकोटाले औल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित पेस गर्नुभएको हो ।
बुधबार नै बसेको दोश्रो बैठकले ति विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत समेत गरेको छ । उक्त विधेयकहरू प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने प्रदेशसभाले तयारी रहेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*