फागुन २ गते सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने

स्वर्णिम खबर
१६ माघ २०८१, बुधबार १७:२५

१६ माघ, हेटौँडा । हेटौंडा १३, पदमपोखरीस्थित ठूलोथली गुम्बाडाँडामा आगामी फागुन २ गते सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सोनाम ल्होछार बृहत् साँस्कृतिक मूल समारोह समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी २८ सय ६१ ओैँ ल्होछार पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम हुने मूल समारोह समितिका संयोजक मदन लामाले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि करिव ९ लाख रकम खर्च हुने अनुमान गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको तर्फबाट १ लाख, हेटौंडा उपमहानगरपालिकाबाट २ लाख, १३ नं वडाबाट १ लाख र अन्य स्थानबाट आर्थिक स्रोत जुटाउने कार्य भइरहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उक्त वडाभित्र रहेका २६ वटा टोल विकास समूहलाई एक–एक वटा गरी २६ वटा स्टल निःशुल्क उपलब्ध गराउने र ती स्टलहरुमा तामाङ समुदायले खाने परिकार, लगाउने भेषभुषा लगायत झल्किने खालको सामग्रीहरु राखिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तामाङ कलाकारहरुले आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य उत्तम गोम्जा, समितिका सदस्य बुद्दिलाल गोले, समारोह समिति सदस्य संगीता वाईबालगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*