प्रेस सेन्टर स्थापना दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया, तथ्यपूर्ण पत्रकारितामा जोड
१५ माघ, हेटौँडा । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ ।
प्रेस सेन्टर मकवानपुरको आयोजनामा प्रेस स्वतन्त्रता, श्रमजीवि पत्रकारको हित, सञ्चार क्षेत्रको पुर्नसंरचना हाम्रो अभियान विषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले पत्रकारले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
सामाजिक सञ्जाल मार्फत् आउने गलत एवम् भ्रमपूर्ण सूचना तथा समाचारले आम जनमानसमा अन्यौलता सिर्जना गरिरहेको बताउँदै श्रमजीवि पत्रकारले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उहाँको जोड थियो । प्रेस सेन्टर नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोज ढोडारीले दिवंगत कौशल पाण्डेको योगदानका कारण सेन्टर मकवानपुरले हालको गरिमा प्राप्त गरेको उल्लेख गर्दै उहाँको योगदानका बारेमा चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा जोड दिनुभयो । प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, प्रेस युनियन मकवानपुरका सचिव बलराम पुडासैनी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौंलागाईलगायतले शुभकामना राखेका थिए ।













