प्राकृतिक विपत्तीको कारण वित्तीय प्रगति न्युन भयोः मन्त्री खड्का
१४ माघ, हेटौँडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले मन्त्रालयको वित्तीय प्रगति न्युन भएको बताउनुभएको छ ।
मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक प्रगति विवरण सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तीको कारण मन्त्रालयको प्रगति न्युन देखिएको बताउनुभयो । निर्धारित लक्ष्य प्राप्त हुने गरी काम गर्न उहाँले मन्त्रालय अन्र्तगतका कार्यालयहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री खड्काले टुक्रे योजनाहरु बढी मात्रामा र एकै ठाउँमा धेरै योजनाहरु पार्ने परिपाटी समस्याहरुकै रुपमा रहेको जिकिर गर्नुभयो । संविधानले तीन वटै तहको सरकारले गर्ने योजनाहरु स्पष्ट रुपमा तोकिदिएको उहाँले बताउनुभयो । मन्त्री खड्काले प्रदेशको भुगोल र जनताको आवश्यकता अनुसार पुरा हुने योजनाहरु मात्र सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयको सचिव मोहन शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाको डिभिजन प्रमुखहरुले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।













