चेपाङ समुदायको अवस्थाको विषयमा सरोकारवाला निकायसँग छलफल

स्वर्णिम खबर
१३ माघ २०८१, आईतवार १८:२३

१३ माघ, हेटौँडा । मकवानपुरका सिमान्तकृत चेपाङ समुदायको अवस्थाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवाला निकायसँग छलफल गरेको छ ।
चेपाङ समुदायको आर्थिक, सामाजिक, शैक्षिक, मानव अधिकारको अवस्था लगायतका विविध विषयमा चेपाङ समुदायका अगुवा सहित यस समुदायको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधिसँथ छलफल गरेको हो । कार्यक्रममा सहभागि चेपाङ अगुवाहरुले रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका कारण विस्थापित नै हुनुपर्ने अवस्था आएको गुनासो गरेका थिए । प्रदुषणका कारणले गर्दा विविध स्वास्थ्य समस्या देखिने गरेको उनीहरुले बताएका छन् ।


कार्यक्रममा बोल्दै सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले चेपाङ समुदायमा बालविवाह ठूलो चूनौतिका रुपमा रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगले चेपाङ समुदायको अवस्था, चेपाङका सन्दर्भमा तीनै तहका सरकार, संघसंस्थाले गर्दै आएका कार्य लगायतका विषयमा प्रतिवेदन तयार गर्न लागेको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव लोकनाथ बास्तोलाले बताउनुभयो । आयोगले विस्तृत अध्ययन गरि तयार पारेको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने छ ।
कार्यक्रममा संविधान सभा सदस्य गोविन्द चेपाङ, बागमती प्रदेशका पूर्व राज्यमन्त्री शन्त बहादुर चेपाङ, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन कुमार भट्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल विश्वकर्मा, जिल्ला अध्यक्ष रमिला सापकोटा लगायत चेपाङ समुदायका लागि कार्य गर्दै आइरहेका संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा चेपाङ समुदायको जनसंख्या १४ हजार रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*