सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गणले मनायो २४ औं सशस्त्र प्रहरी दिवस
९ माघ, हेटौँडा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले २४ औं सशस्त्र प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
हेटौंडा उपमहानगरपालिका ८ मैदाटोल स्थित गण परिसरमा सशस्त्र प्रहरी उपरिक्षक ज्ञानप्रसाद भूर्तेलको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी दिवस २०८१ को आयोजना गरिएको थियो । कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै प्रहरी उपरिक्षक भूर्तेलले जस्तोसुकै अवस्थामा पनि विचलित नभई देश र जनताप्रति कर्तव्य निष्ठ भई कार्यसम्पादनमा लाग्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । संगठनले आर्जित गरेको सेवाभावलाई कायम राख्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

उक्त अवसरमा प्रहरी उपरिक्षक भूर्तेलले २०६१ साल वैशाख २१ गते विरगती प्राप्त गर्नुभएका अमर सशस्त्र प्रहरी सहायक निरिक्षक महेन्द्र कक्षपतिकी श्रीमती सिता कक्षपतीलाई दोसल्ला ओढाई नगद २५ हजार सहित सम्मान गर्नुभयो । कक्षपतिले शहादत प्राप्त गरेको स्थान बकैया गाउँपालिका ४ स्थित छत्रेश्वर महादेव मन्दिर परिसरमा १४ नम्बर गणले शिलालेख निर्माण गरेको छ ।
कार्यक्रममा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।













