हेटौंडाको १ नं. वडालाई माघ ११ गते बालमैत्री वडा घोषणा गरिने
८ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ लाई माघ ११ गते निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दे कार्यक्रम बारे जानकारी गराएको हो । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार १ नं. वडालाई बालमैत्री वडा घोषणा गरिन लागिएको वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरुमा शत प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हाँसिल भएको बताउनुभयो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सुचक मापनको प्रतिवेदन, स्थिति पत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको उहाँले बताउनुभयो । घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १ नं. वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १४ रहेको छ । जसमा १ हजार ४५ बालक र ९ सय ६९ बालिका रहेका छन् । वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्र सहितका ६ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सञ्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रियाशील रहेका छन् । यसअघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।













