सही सुचनाबाटै सुशासनको परिकल्पना गर्न सकिन्छः मन्त्री लामिछाने
८ माघ, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सही सुचनाबाटै सुशासनको परिकल्पना गर्न सकिने बताउनुभएको छ ।
सत्यतथ्य सुचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभुति गर्न सक्ने उहाँले बताउनुभयो । प्रदेश सुचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौंडामा भएको सुचनाको हक प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री लामिछानले विभिन्न बहानामा सुचना नदिनु निरङकुशता भएको जिकिर गर्नुभयो ।
उहाँले संघीयताको कार्यान्वयन पश्चात् प्रादेशिक तहमा सुचना हक सम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सुचना आयोगलाई मात्र नभई पुनरावेदन समितिलाई पनि जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री लामिछानेले आवश्यक भौतिक संरचनाको व्यवस्था गरी समितिलाई सुदृढ बनाउन प्रदेश सरकार तत्पर रहेको समेत बताउनुभयो ।

मन्त्री लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । लोकतन्त्रको बलियो आधार पारदर्शी र सुशासन रहेकाले उक्त विषयमा सूचनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाई छ । मन्त्री लामिछानेले सूचनाले अक्सिजनको रूपमा काम गर्ने उल्लेख गर्नुभयो । पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुहुँदै मन्त्री लामिछानेले नागरिकको प्रत्यक्ष सरोकारका विषय जोडिएको सूचनालाई प्रवाह गरी सुसूचित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सूचनाको हक र सूचना अधिकारी सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी प्रस्तूतिकरण राख्नुभएको थियो भने प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरि अधिकारीले समितिको भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले सूचना माग गर्दा सरकारी निकायबाट नै समयमा सूचना नपाइने गरेको गुनासो गरेका थिए । कार्यक्रममा प्रदेश स्थित मन्त्रालयका सूचना अधिकारी, मकवानपुरका स्थानीय तहका सूचना अधिकारी, हेटौडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा सचिव, सूचनाका हकका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।













