हेटौंडाको ५ नं. वडा माघ ५ गते बालमैत्री वडा घोषणा हुने
३ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको ५ नं.वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ५ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिएको हो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहनुभएका वडा अध्यक्ष सुशील घिमिरेले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये ४७ वटा सुचकमा शतप्रतिशत नतिजा हासिल भएको बताउनुभयो ।
पूर्ण खोप वडा घोषणा, पूर्ण साक्षर वडा घोषणा, खुल्ला दिशामुक्त वडा घोषणा भई सकेको वडा सदस्य ज्ञानबहादुर थापाले बताउनुभयो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शन अनुसार वडाले बालमैत्रीको लागि पौने २ लाख बजेटमा आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडा नं. ५ मा घरधुरी सर्वेक्षण २०७९ अनुसार कुल बालबालिका ३ हजार ७ सय ९८ जना छन् । जसमा बालिका १ हजार ७ सय ८२ र बालक २ हजार १६ जना रहेका छन् ।
यसैगरी उक्त वडामा सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय संचालनमा छन् । यस वडामा २४ वटा बाल समूह र एक वडास्तरी बाल समूह सञ्जाल रहेको छ । जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने संरचनागत समितिहरुमा समेत गरी जम्मा ६ सय ४६ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।













