प्रधानमन्त्रीको दाबीः असहमतिमा अध्यादेश जारी भएको होइन

स्वर्णिम खबर
२ माघ २०८१, बुधबार १८:५९

२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमा रहेका दलका शीर्ष नेता, विज्ञ र सरोकारहरुसँगको सघन छलफलपछि सुशासन र विकासका लागि तत्काल अध्यादेशमार्फत कानून संशोधन गर्न जरुरी भएकाले अध्यादेशहरु ल्याइएको बताउनु भयो । उहाँले बाहिर हल्ला र अफवाह फैल्याए जस्तो असहमतिमा अध्यादेश जारी नभएको दाबी गर्नुभयो ।
उहाँले सरकारले ल्याएको अध्यादेश सावधानी र मेहनतका साथ अध्यादेश सिफारिस भएर राष्ट्रपतिबाट जारी भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले उहाँले सरकारले अन्य विधेयकको तयारी गरेर संसद खोल्ने बित्तिकै अध्यादेस पेश गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले यथोचित समयमा नै संसद बैठक आह्वान गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार काम गर्नको लागि बनेको भन्दै जनता र सुशासनको पक्षमा बलियो रुपमा काम गर्ने उल्लेख गर्नुभयो ।
उहाँले सरकारले मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान, बेलुका र दिँउसो जुनसुकै समयमा पनि काम गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्नु जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले अधिकारको प्रयोग शान्तिपूर्ण ढंगले गर्न पनि आग्रह गर्नुभयो ।
यसैबीच बुधबार सिंहदरबारमा बसेको विपक्षी ६ दलका शीर्ष नेताहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*