मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका अवस्थाको प्रगति समिक्षा कार्यक्रम सम्पन्न
२९ पुस, हेटौँडा । मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका अवस्थाको प्रगति समिक्षा कार्यक्रम हेटौंडामा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको कार्यक्रममा संयुक्त राष्ट्रसंघले आर्थिक वर्ष ०७७–०७८ देखि आर्थिक वर्ष ०८१–०८२ सम्म लागूहुने जारी गरेको राष्ट्रिय कार्ययोजनामा उल्लेखित विषयमा भएका कार्यका बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुख लगायत प्रदेश स्तरीय समन्वय समिति र जिल्ला स्तरीय समन्वय समितिका प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा सहभागीले जिल्लामा गठन गरिने समितिहरूको बारेमा थाहै नहुने गरेको बताएका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मानव अधिकार सम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि गठित समितिहरुलाई क्रियाशिल बनाउन आवश्यक रहेको बताउनुभयो । बजेटले र्निदिष्ट गरेका कार्यहरुलाई सम्पन्न गर्नु मात्रै सरकारको दायित्व सम्झना नहुने उहाँको भनाई थियो ।

प्रमुख सचिव हरि लम्सालले जनमानसमा आशा जगाउने गरि कार्य गर्न राज्यका निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो । सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिब राजेन्द्र थापाले द्धन्द्ध पिडितको परिपूरणका सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिकाका विषयमा प्रस्तुतिकरण समेत राख्नुभएको थियो ।
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाले शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम, रोजगार र सामाजिक सुरक्षा, बाल अधिकार लगायत १७ ओटा विषयका ३ सय १४ वटा क्रियाकलापलार्ई समेटेको छ । आर्थिक वर्ष २०६१–०६२ देखि २०७५–०७६ सम्म चारवटा आवधिक राष्ट्रिय कार्य योजना कार्यान्वयन भईसकेको छ ।













