मानव अधिकारको अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न
१६ पुस, हेटौँडा । मानव अधिकारको अवस्था जानकारी गराउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकारको अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बैठक बसेको हो । इन्सेक बागमति प्रदेश अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा बसेको बैठकमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्रतिनिधित्व रहेको थियो ।
बैठकमा बोल्दै बरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकारले दूरदराजमा भएका मानव अधिकार हननका विषयलाई प्रकाशमा ल्याएको बताउँदै मानव अधिकार स्थापित गराउन पत्रकारको भूमिका अहम् हुने धारणा राख्नुभयो । पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले सम्पादकीय स्वतन्त्रता कमजोर बन्दै गएको बताउनुभयो । जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले मानव अधिकारका क्षेत्रमा नीति नियम बनेतापनि कार्यान्वयन पाटो फितलो रहेको बताउनुभयो ।
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले पछिल्लो समय सामाजिक सञ्जालका कारण बालबालिका शोषणमा पर्ने गरेको बताउनुभयो । उहाँले अनलाइन बाल संरक्षणको विषय उठान गर्न आवश्यक रहेको बताउनुभयो ।
सिविन बाल हेल्प लाइन मकवानपुर संयोजक झविन्द्र ज्ञवालीले पछिल्लो समय बालबालिकाहरु अपराधिक गतिविधिमा संलग्न रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । बैठकमा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला कार्यसमिति, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।













