लिस्ट बनाएरै भ्रष्टचारको फाइल खोल्न आँट गरौँः महामन्त्री थापा
१६ पुस, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक नेतृत्वहरुले भ्रष्टचारको फाइल खोल्न आँट गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस, एमाले, माओवादी लगायत सबै दलका नेताहरुले भ्रष्टचारका फाइलहरुको लिस्ट बनाएरै फाइल खोल्न आँट गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले शक्तिशाली आयोग अथवा कानुन बनाएरै फाइल खोलेर दोषीलाई कारवाही गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।
राज्य कानुनद्वारा चल्ने भएकोले दोषी जो सुकै जति शक्तिशाली भएपनि कारवाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ । महामन्त्री थापाले भ्रष्टचार नेपालको सबैभन्दा ठुलो रोग भएको समेत उल्लेख गर्नुभयो । नेतृत्वहरु भ्रष्टचारमा लिप्त भएर नै देश विकास हुन नसकेको भाष्यलाई चिर्न कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभयो । नेताहरुले गरेको गल्तीको भारी कार्यकर्ता र व्यवस्थाले बोक्न नसक्ने समेत उहाँले बताउनुभयो ।
महामन्त्री थापाले संविधानमा उल्लेख भएका व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । संविधानलाई स्थिर बनाउन अनुभवको आधारमा पुनरावलोकन गर्नुपर्ने उहाँको भनाई छ । सबै राजनीतिक दलहरुकै समझदारीमा प्रदेश र स्थानीय सरकार प्रभावकारी र बलियो हुने व्यवस्था संविधानमा नै उल्लेख गरिने समेत उहाँले स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले ८४ सालको चुनावमा ४० प्रतिशत मत प्राप्त गर्ने पार्टीले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने निर्वाचन प्रणाली अपनाउने गरी छलफल गर्न पनि शीर्ष नेतृत्वलाई आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंयाले इच्छाले नभई राजनीतिक स्थायित्व र जनताको निराशालाई चिर्न अहिलेको गठबन्धन बनेको बताउनुभयो । कांग्रेस र एमालेको सरकार पनि टिक्न नसक्दा व्यवस्था माथि संकट पैदा हुने उहाँको भनाई छ । सभापति बानिंयाले अहिलेको सरकारले नराम्रो काम नगरेता पनि राम्रो काम पनि केही गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका अग्रज व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।













