पत्रकार महासंघको नवनिर्वाचित बागमती प्रदेश समिति र मकवानपुर जिल्ला समिति सम्मानित

स्वर्णिम खबर
९ पुष २०८१, मंगलवार १८:११

९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले नेपाल पत्रकार महासंघको नवनिर्वाचित बागमती प्रदेश समिति र मकवानपुर जिल्ला समितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
गत मंसिर २८ मा सम्पन्न निर्वाचनमा प्रदेश समितिमा मकवानपुर जिल्लाबाट निर्वाचितहरुलाई र जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी, सदस्यलाई एक कार्यक्रमको आयोजना गर्दै बधाई तथा सम्मान गरेको हो ।
वडा कार्यालयले नवनिर्वाचितहरुलाई टिका, खादा लगाएर सम्मान गर्नुका साथै डायरी उपहार प्रदान गरेको थियो । बधाई तथा शुभकामना मन्तव्य राख्दै ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले आफू सधैँ पत्रकारको हक हितको पक्षमा रहने प्रतिबद्धता जनाउनुभयो । यसै वडामा पत्रकार महासंघको जिल्ला कार्यालय समेत रहेकाले आगामी दिनहरुमा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित उपाध्यक्ष हरी हुँमागाईले श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसैगरी जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले श्रमजीवी पत्रकार तथा सञ्चारगृहलाई बलियो बनाउन लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
सम्मान कार्यक्रममा महासंघ बागमति प्रदेश सदस्य सुर्वणलाल श्रेष्ठ, जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो । सोही अवसरमा भूटनदेवी माध्यामिक विद्यालयका अवैतानिक कानूनी सल्लाहकारका रुपमा रहनुभएका पत्रकार महासंघ मकवानपुरका नव निर्वाचित अध्यक्ष अधिकारीलाई विद्यालयले सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*