संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक
९ पुस, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिनुभयो । उहाँले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताउनुभयो ।
संविधानमा समासामयिक रुपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने उहाँको भनाई छ । गृहमन्त्री लेखकले केही दिनपछि नै नेपाली काँग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल शुरु गर्ने बताउनु भयो ।
गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले संविधानको भावनाअनुसार दलितहरुका हक, अधिकारलाई सुनिश्चित गर्ने बताउनु भयो ।













