चित्रेपानी सामुदायिक वनको २३ औं वार्षिक साधारणसभा सम्पन्न
८ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र १५ स्थित चित्रेपानि सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
समितिका सूर्य बहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रम १५ नम्बर वडाका वडा अध्यक्ष सुनिल मोत्तलानको प्रमुख आतिथ्यता भएको हो । वडा अध्यक्ष मोक्तानले साधारण सभाको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष घलानले गत वर्षको प्रगति प्रतिवेदनका साथै आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रम र अनुमानित आय व्यय विवरण प्रस्तूत गर्नुभएको थियो ।
साधारण भेलामा लेखा संयोजक भानु प्रताप विडारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा वन समूहलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तित्वलाई कदरपत्र सहित सम्मान गरिएको थियो । साधारणसभामा समूहलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजाल, डावर नेपालका एशोसियटस मेनेजर विष्णु केसी, सेवानिवृत कर्मचारी यदु कुमार घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल, डढेलो नियन्त्रणमा सहयोग गर्ने सुभाष वाईवा रहेका छन् ।
साधारणसभाको बन्दसत्रले भानु प्रताप विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद दाहाल, सचिवमा श्वेता लामा र कोषाध्यक्षमा सविना विक चयन भएका छन । यस वन समूहले डाबर नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा जडिबुटि रोप्नुका साथै आर्थिक उपार्जनका लागि कुरिलो खेति समेत गर्दै आएको छ ।













