बागमतीको प्रदेश प्रमुख देवकोटा समक्ष अख्तियारको प्रतिवेदन पेश
११ कार्तिक, हेटौँडा । बागमती प्रदेश प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ वार्षिक औं प्रतिवेदन बुझाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका कार्यालय प्रमुख उमाकान्त आचार्य लगायतको समूहले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम प्रदेश प्रमुख देवकोटासमक्ष पेश गरिएको हो ।
प्रतिवेदन बुझ्दै गर्दै प्रदेश प्रमुख देवकोटाले पारदर्शिताको सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । आर्थिक तथा अन्य कुनै पनि अख्तियारी माथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा आफ्नो पूर्ण साथ रहने प्रमुख देवकोटाले बताउनुभयो ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटेर तयार पारिएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷८० बाट जिम्मेवारी सरेर आएका समेत कूल ३ हजार १ सय ५३ उजुरीमध्ये २ हजार २ सय ४२ अर्थात ७१ दशमलव ११ प्रतिशत उजुरीहरु विभिन्न माध्यमबाट फर्छयौट गरिएको उल्लेख गरिएको छ ।
तीमध्ये सबैभन्दा बढी उजुरी परेका क्षेत्रहरू संघीय मामिलाका ३८ दशमलव ७६ प्रतिशत, शिक्षाका १२ दशमलव ५२ प्रतिशत, प्रदेश भौतिक पूर्वाधार विकासका ४ दशमलव ४० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसँग सम्वन्धित ३ दशमलव ८७ प्रतिशत, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणका २ दशमलव ८४ प्रतिशत रहेका छन् । उल्लिखित क्षेत्रहरू बाहेकका अन्य विविध विषयहरूसँग सम्बन्धित उजुरीहरू ७ दशमलव ३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।